काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् । उनी ओली भेट्न बुधबार बालकोट पुगेका थिए । सो क्रममा ओलीले बालेन्द्रलाई तबला दिएको बालकोट स्रोतले जनाएको छ ।

ओलीले तबला दिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ । काठमाडौं महानगरपालिकाको मेयर पदको मतगणना हुँदै गर्दा पनि बालेन्द्रले ओलीलाई भेटेका थिए । यो दोस्रो पटकको भेटमा ओली र बालेनबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल भएको बुझिएको छ ।
बालेन्द्र साहले महानगरपालिकामा उम्मेदवारी दिँदा मतदाताले निकै विश्वासका साथ भारी मत दिएका थिए । उनले अहिले आफूलाई काम गर्न नदिएको गुनासो सार्वजनिक रुपमै पोख्न थालेका छन् । उसो त उनको कार्यशैलीको आलोचना पनि सुनिन थालेको छ ।