मुख्य अभियुक्त कारागार चलान भइसके पनि छिमेकी दिलखुस चौधरी र उनका नाबालक छोराको भूमिकाबारे छानबिन गर्न परिवारको आग्रह
धनगढी- धनगढीमा १० वर्षीय तनुज चौधरीको हत्या भएको घटनामा मृतकका परिवारले छिमेकी दिलखुस चौधरी र उनका नाबालक छोरालाई समेत अनुसन्धानको दायरामा ल्याएर आवश्यक कारबाही गर्न माग गरेका छन्।

शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मृतक परिवारले घटनाका मुख्य अभियुक्तका रूपमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भइसकेका गौरीगंगा नगरपालिका–६ का खेमराज कठायतसँगै दिलखुस चौधरी र उनका छोराको भूमिकामाथि समेत गहिरो अनुसन्धान गर्न माग गरेको हो।
मृतकका बुवा मिनराज चौधरीले खेमराज र दिलखुसबीच पहिलेदेखि नै उठबस तथा घरमा आउजाउ हुने गरेको दाबी गरे। उनका अनुसार घटना भएको दिन दिलखुसले आफ्नै छोरामार्फत तनुजलाई फकाएर गौरीगंगा नगरपालिका–६ को मोया क्षेत्रमा पुर्याएको आशंका छ।
त्यसपछि दिलखुसकै योजनामा उनका छोरामार्फत तनुजको हत्या भएको हुनसक्ने परिवारको आशंका रहेको मिनराजले बताए। यद्यपि, गाउँकै व्यक्तिले यस्तो अपराध गर्न सक्छ भन्ने विश्वास नलागेका कारण त्यसबेला आफूहरूले दिलखुसविरुद्ध किटानी जाहेरी नदिएको उनको भनाइ छ।
मृतककी हजुरआमा अनितादेवी चौधरीले पनि तनुजको हत्यामा खेमराजसँगै दिलखुस र उनका छोराको भूमिका भए/नभएको विषयमा निष्पक्ष अनुसन्धान गर्न माग गरेकी छन्। दोषी देखिए कानुनअनुसार कारबाही हुनुपर्ने परिवारको माग छ।
यसअघि प्रहरीले दिलखुस चौधरीसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। तर उनीहरूविरुद्ध मृतक परिवारबाट किटानी जाहेरी नपरेको र हत्यामा संलग्न भएको पुष्टि हुने पर्याप्त प्रमाण फेला नपरेपछि उनीहरूलाई छाडिएको प्रहरीले जनाएको थियो।
मुख्य अभियुक्त खेमराज कारागारमा
घटनाका मुख्य अभियुक्तका रूपमा प्रहरीले गौरीगंगा नगरपालिका–६ का २५ वर्षीय खगेन्द्र भनिने खेमराज कठायतलाई भारततर्फ भाग्दै गरेको अवस्थामा धनगढी–२ स्थित भन्सार रोडबाट पक्राउ गरेको थियो। पक्राउ परेका कठायतलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गरी पछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
तनुज गत १० असारमा घरबाट बेपत्ता भएका थिए। त्यसको दुई दिनपछि धनगढी र गौरीगंगा नगरपालिकाको सीमा क्षेत्रमा पर्ने कालिका सामुदायिक वनभित्र उनको शव फेला परेको थियो।
घटनास्थलमा तनुजको साइकल, चप्पल, कालो प्लास्टिकको झिल्ली तथा गंगटाका अवशेषसमेत भेटिएको प्रहरीले जनाएको थियो।
तनुजले लगाएको सुनको मुन्द्रा घटनापछि नभेटिएपछि प्रहरीले प्रारम्भिक रूपमा लुटपाटको उद्देश्यले हत्या भएको हुनसक्ने आशंका गरेको थियो। पछि उक्त मुन्द्रा मुख्य अभियुक्त कठायतले घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो।
मुख्य अभियुक्त पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भइसके पनि घटनामा अन्य व्यक्तिको संलग्नता वा भूमिका रहे/नरहेको विषयमा पुनः गहिरो र निष्पक्ष अनुसन्धान हुनुपर्ने मृतक परिवारको माग छ।
परिवारले अनुसन्धानका क्रममा आफूहरूले उठाएका विषयलाई समेत गम्भीरतापूर्वक लिएर सत्यतथ्य सार्वजनिक गर्न प्रहरीसँग आग्रह गरेको छ।
