देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यतया बदली रहेको छ। हाल सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
राति पनि वर्षाको सम्भावना
आज राति देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।
देशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
विशेषगरी कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण सडक तथा यातायातमा असर पर्न सक्ने, साथै पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
