धनगढी- कैलालीका तीन स्थानीय तहमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। जेई संक्रमणको जोखिम बढ्दै गएपछि स्वास्थ्य कार्यालय कैलालीले आगामी असोज १ गतेदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो।
शनिबार सम्पन्न जिल्ला खोप समन्वय समितिको बैठकमा स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा अभियान सञ्चालन गरिने जानकारी दिए।

स्वास्थ्य कार्यालयका अनुसार घोडाघोडी र लम्कीचुहा नगरपालिकामा असोज १ देखि ७ गतेसम्म तथा धनगढी उपमहानगरपालिकामा असोज ८ देखि २२ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ।
अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका नागरिकलाई जेईविरुद्धको खोप लगाइनेछ। धनगढी उपमहानगरपालिकामा १ लाख २ हजार ४९९, घोडाघोडी नगरपालिकामा ३९ हजार ५९ र लम्कीचुहा नगरपालिकामा ४० हजार ७५५ गरी कुल १ लाख ८२ हजार ३१३ जनालाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। लक्षित जनसंख्यामध्ये १ लाख ३८९ जना महिला रहेका छन्।
अभियानका लागि १ लाख ९१ हजार ४२९ डोज खोप आउने क्रममा रहेको कार्यालयले जनाएको छ। स्थानीय तह तथा स्वास्थ्य संस्थामार्फत खोप प्रदान गर्ने गरी आवश्यक तयारी भइरहेको छ।
स्वास्थ्य कार्यालयका प्रमुख कुँवरका अनुसार सन् २०२६ को सुरुवातयता घोडाघोडी नगरपालिकामा जेई संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ। धनगढी उपमहानगरपालिका र लम्कीचुहा नगरपालिकामा भने तीन/तीन जना जेई संक्रमित रहेको उनले जानकारी दिए।
जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यसले मुख्यतः मस्तिष्कमा असर गर्ने भएकाले संक्रमण गम्भीर हुन सक्ने कुँवरले बताए। संक्रमित लामखुट्टेको टोकाइपछि भाइरस शरीरमा प्रवेश गर्ने र मस्तिष्कमा गम्भीर समस्या उत्पन्न गर्न सक्ने उनको भनाइ छ।
जेई मानिसबाट मानिसमा भने नसर्ने स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमित सबै व्यक्तिमा लक्षण नदेखिन सक्ने भए पनि लक्षण देखिएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर कमजोर हुने, कम्पन हुने तथा घाँटीमा असहजता हुनेजस्ता समस्या देखिन सक्छन्।
रोगबाट बच्न लामखुट्टे नियन्त्रण र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। घरका झ्यालढोकामा जाली लगाउने, घरवरिपरि पानी जम्न नदिने तथा पूरा बाहुला भएका कपडा लगाउनेजस्ता सावधानी अपनाउन सुझाव दिइएको छ।
सुँगुर, बंगुर, हाँस, कुखुरा तथा अन्य चराचुरुङ्गी र लामखुट्टेबीचको संक्रमण चक्रसँग जेई सम्बन्धित हुने भएकाले यस्ता पशुपन्छीलाई बस्ती तथा घरबाट केही टाढा व्यवस्थित रूपमा पाल्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख कुँवरले बताए।
जेईको शंका लागेमा नियन्त्रण तथा व्यवस्थापनको काम स्थानीय तहले गर्ने र संक्रमण भए/नभएको यकिन गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने उनले जानकारी दिए।
