‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ नारासहित गोदावरी–४ मा तीज विशेष कार्यक्रम

वडाका महिलाहरूको उत्साहजनक सहभागितामा नाचगान, देउडा र दर खुवाउने कार्यक्रम सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- ‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने नाराका साथ गोदावरी नगरपालिका वडा नम्बर ४ ले हरितालिका तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

भाद्र २८ गते वडा कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा पूर्व माननीय विजय कुँवर प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको अध्यक्षता वडा नम्बर ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लले गरेका थिए भने कार्यक्रमको सञ्चालन वडा कार्यालयकी सचिव तुलसी चौधरीले गरेकी थिइन्।

Navadurga sun

कार्यक्रममा वडा नम्बर ४ का विभिन्न क्षेत्रबाट सहभागी महिला दिदीबहिनीहरूले सामूहिक रूपमा नाचगान तथा देउडा खेलेर तीज पर्व मनाएका थिए। कार्यक्रममा सहभागी महिलाहरूलाई वडा कार्यालयको तर्फबाट खिरसमेत खुवाइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष हेमप्रकाश मल्लले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि वडाले हरितालिका तीज विशेष कार्यक्रम आयोजना गरेको बताए। उनले तीज हिन्दू महिलाहरूको महत्वपूर्ण तथा महान् पर्व भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले संस्कृति संरक्षणसँगै महिलाहरूलाई एकआपसमा भेटघाट, आत्मीयता र माया–स्नेह साटासाट गर्ने अवसर प्रदान गर्ने बताए।

अध्यक्ष मल्लले तीज केवल मनोरञ्जनको पर्व मात्र नभई महिलाका अधिकार, समस्या र आवाजलाई गीत तथा नृत्यमार्फत अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरसमेत भएको बताए। तीजका गीतहरूमा महिलाका दुःख, पीडा, समस्या, संघर्ष तथा खुसीका विषयहरू समेटिने भएकाले यसको सामाजिक महत्वसमेत रहेको उनको भनाइ थियो।

उनका अनुसार तीज पर्वले समुदायका महिलाहरूलाई एउटै स्थानमा भेला गराएर आपसी सम्बन्धलाई थप मजबुत बनाउने काम गर्दछ। स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा समेत यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उनले बताए।

यस वर्ष हरितालिका तीज भाद्र २९ गते मनाइँदैछ। तीजको अघिल्लो दिन दर खाने परम्पराअनुसार वडा नम्बर ४ ले भाद्र २८ गते नै विशेष कार्यक्रम आयोजना गरी सहभागीहरूलाई दरका रूपमा खिर खुवाएको हो।

कार्यक्रममा वडाका महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूले परम्परागत गीत, नृत्य तथा देउडामार्फत कार्यक्रमलाई उत्सवमय बनाएका थिए।

स्थानीय संस्कृति, परम्परा र मौलिकताको संरक्षण गर्दै महिलाहरूबीचको एकता र आत्मीयता बढाउने उद्देश्यले आयोजना गरिएको तीज विशेष कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...