कञ्चनपुरमा चार वर्षमा १,२०५ सवारी दुर्घटना, १५८ जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा पछिल्ला चार वर्षको अवधिमा एक हजारभन्दा बढी सवारी दुर्घटना भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार आर्थिक वर्ष २०७९/८० देखि हालसम्म जिल्लामा १ हजार २०५ वटा सवारी दुर्घटना भएका छन्।

उक्त अवधिमा सवारी दुर्घटनामा परी १ हजार ८८५ जना घाइते भएका छन् भने १५८ जनाले ज्यान गुमाएका छन्।

Navadurga sun

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा ६३ वटा सवारी दुर्घटना हुँदा ५९ जना घाइते भएका थिए भने ४३ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा ५६ दुर्घटना हुँदा ७४ जना घाइते र ३२ जनाको मृत्यु भएको थियो।

त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा दुर्घटनाको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ। उक्त आर्थिक वर्षमा ४५२ वटा सवारी दुर्घटना हुँदा ७७३ जना घाइते भएका थिए भने ३८ जनाले ज्यान गुमाएका थिए।

आर्थिक वर्ष २०८२/८३ मा ५६४ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा ८७८ जना घाइते भएका थिए भने ४१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वलेन्द्र नाथले जानकारी दिए।

चालु आर्थिक वर्षको हालसम्म पनि जिल्लामा ७० वटा सवारी दुर्घटना भइसकेका छन्। ती दुर्घटनामा १०१ जना घाइते भएका छन् भने चार जनाले ज्यान गुमाएका छन्।

८ हजारभन्दा बढी चालक कारबाहीमा

ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीलाई समेत तीव्रता दिएको छ। गत आर्थिक वर्षमा मात्रै ८ हजार ३०१ जना सवारीचालक कारबाहीमा परेका थिए।

कारबाहीमा परेका चालकबाट ट्राफिक प्रहरीले ६९ लाख १४ हजार ५०० रुपैयाँ जरिबाना असुल गरेको जनाएको छ।

चालु आर्थिक वर्षको हालसम्म १ हजार ९०८ जना चालक कारबाहीमा परेका छन्। उनीहरूबाट १३ लाख ५ हजार रुपैयाँ जरिबाना असुल गरिएको प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गर्ने चालकको लाइसेन्स खारेजी सिफारिस

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने चालकविरुद्ध पनि कडाइ गरेको छ।

चालु आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाएको कसुरमा दुई जना चालकको सवारीचालक अनुमतिपत्र खारेजीका लागि सिफारिस गरिएको प्रहरी निरीक्षक नाथले बताए।

सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० को नियम २७ को (घ) बमोजिमको कसुरमा उनीहरूको अनुमतिपत्र खारेजीका लागि यातायात व्यवस्था कार्यालय महेन्द्रनगरमा सिफारिस गरिएको प्रहरीले जनाएको छ।

ठूलो आवाज निकाल्ने मोटरसाइकल र क्षमताभन्दा बढी भार बोक्ने सवारीमाथि कारबाही

ट्राफिक प्रहरीले पछिल्लो समय ध्वनि प्रदूषण तथा क्षमताभन्दा बढी भार बोक्ने सवारीसाधनमाथि समेत निगरानी बढाएको छ।

गत महिनामा ठूलो आवाज निकाल्ने चार जना मोटरसाइकल चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

यसैगरी गत साउन महिनामा क्षमताभन्दा बढी इँटा ओसारपसार गरिरहेको से १ त ३५०५ नम्बरको ट्याक्टरलाई रोकेर पल्टी गरी अतिरिक्त इँटा खाली गर्न लगाइएको ट्राफिक प्रहरीले जनाएको छ।

लागुऔषध सेवन गरी सवारी चलाउने पाँच जना कारबाहीमा

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन परीक्षणसँगै लागुऔषध सेवन गरी सवारी चलाउने चालकको समेत परीक्षण तथा निगरानी गर्दै आएको छ।

गत साउन महिनामा लागुऔषध सेवन गरी सवारी चलाएको आरोपमा विङ्गर, विद्युतीय हाइस, अटो र मोटरसाइकल चालक गरी पाँच जनालाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा यात्रुलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नाथले सवारी चलाउँदा क्षमताभन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा ट्राफिक नियमको अनिवार्य पालना गर्न आग्रह गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...