सुदूरपश्चिममा गौरा पर्वको रौनक, आज मुख्य दिन अठवाली मनाइँदै

बिरुडा पञ्चमीदेखि सुरु भएको गौरा पर्वको मुख्य दिन अष्टमीमा शिव–पार्वतीको पूजा, देउडा खेल्दै हर्षोल्लासका साथ मनाइँदै

सुदूरपश्चिम प्रदेशमा मौलिक संस्कृति र परम्परासँग जोडिएको महान् पर्व गौराको रौनक छाएको छ। भदौ शुक्ल पञ्चमीदेखि विधिवत् रूपमा सुरु भएको गौरा पर्वको मुख्य दिन अठवाली अर्थात् अष्टमी आज सुदूरपश्चिमका विभिन्न जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ।

दार्चुला, बैतडी, डडेल्धुरालगायत पहाडी जिल्लामा गौरा पर्वका अवसरमा स्थानीय गौरादेवीको मन्दिरमा विशेष पूजाआजा तथा जात्रा लाग्ने गर्दछ। कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदायले पनि विभिन्न स्थानमा गौरा देवीको मन्दिर स्थापना गरी सामूहिक रूपमा पर्व मनाउने गरेका छन्।

Navadurga sun

सुदूरपश्चिमको मौलिक संस्कृति र पहिचानका रूपमा रहेको गौरा पर्व भारतको उत्तराखण्डस्थित कुमाउ र गढवाल क्षेत्रमा पनि आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार मनाउने गरिन्छ।

रोजगारीका लागि बाहिरिएकाहरू घर फर्किएपछि गाउँघरमा चहलपहल

गौरा पर्व मनाउन काम, अध्ययन तथा रोजगारीका सिलसिलामा भारतलगायत विभिन्न देशमा गएकाहरू घर फर्किएपछि सुदूरपश्चिमका गाउँघरमा चहलपहल बढेको छ। परिवार, आफन्त र इष्टमित्रसँग भेटघाट गर्दै सामूहिक रूपमा पर्व मनाउने वातावरण बनेको छ।

बिरुडा पञ्चमीदेखि सुरु हुन्छ गौरा

गौरा पर्वको पहिलो दिन अर्थात् भदौ शुक्ल पञ्चमीमा महिलाहरूले व्रत बसेर बिरुडा भिजाउने चलन छ। केराउ, गहत, गहुँ, मास र गुरौस गरी पाँच प्रकारका अन्नलाई तामाको भाँडामा भिजाएर गौरा पर्वको विधिवत् सुरुआत गरिन्छ।

बिरुडा भिजाउने चलनका कारण भदौ शुक्ल पञ्चमीलाई सुदूरपश्चिममा ‘बिरुडा पञ्चमी’ समेत भन्ने गरिन्छ।

षष्ठीका दिन पञ्चमीमा भिजाइएको बिरुडालाई नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने परम्परा छ। सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर विधिपूर्वक पूजा–अर्चना गरिन्छ। यस दिन विवाहित महिलाहरूले दुवधागो अर्थात् मन्त्रिएको विशेष धागो चढाउने परम्परा पनि रहेको छ।

अठवालीमा शिव–पार्वतीको पूजा

गौरा पर्वको मुख्य दिन अठवाली अर्थात् अष्टमीका दिन व्रत बसेर गौरा खला अर्थात् आँगनमा शिव र पार्वतीको पूजा–आराधना गर्ने चलन छ। यस दिनलाई दुर्वाष्टमीका रूपमा समेत चिनिन्छ।

गौरा पर्व धार्मिक आस्था र पारिवारिक सुख–समृद्धिसँग मात्र नभई सुदूरपश्चिमको मौलिक लोकसंस्कृति संरक्षण गर्ने महत्वपूर्ण पर्वका रूपमा पनि लिइन्छ।

देउडाले झनै बढाउँछ गौराको रौनक

गौरा पर्वको मुख्य आकर्षणमध्ये देउडा पनि एक हो। गौरा पर्वका अवसरमा विभिन्न स्थानमा महिला तथा पुरुषहरू सामूहिक रूपमा देउडा खेल्दै रमाउने गर्छन्।

देउडामा पौराणिक कथा, देवी–देवताका गाथा तथा सामाजिक विषयवस्तु समेटिएका गीत गाउने गरिन्छ। चैतली, धुमरी, ढुस्कोलगायत विभिन्न भाकामा देउडा खेल्ने परम्परा सुदूरपश्चिमको विशिष्ट सांस्कृतिक पहिचानका रूपमा स्थापित छ।

देउडाका माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गति तथा समसामयिक राजनीतिक र सामाजिक अवस्थामाथि व्यङ्ग्यसमेत गर्ने गरिन्छ। सुख–दुःख साटासाट गर्ने, आफन्त तथा साथीभाइसँग आत्मीयता बढाउने र सामाजिक सद्भाव कायम गर्ने माध्यमका रूपमा समेत देउडालाई लिइन्छ।

गौरा पर्वले धार्मिक आस्था, पारिवारिक एकता र सामाजिक सद्भावसँगै सुदूरपश्चिमको मौलिक लोकसंस्कृति र परम्परालाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...