भोटेकोशी बाढीपीडितका लागि प्रतिभा सामुदायिक पुस्तकालयको सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११ हजार १११ सहयोग
अत्तरिया- भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले श्री प्रतिभा सामुदायिक पुस्तकालय, अत्तरिया कैलालीले आर्थिक सहयोग गरेको छ।
पुस्तकालयको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११ हजार १११ सहयोग रकम जम्मा गरिएको हो।

प्राकृतिक विपद्का कारण प्रभावित भएका परिवारको राहत तथा पुनर्स्थापनामा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले पुस्तकालयले उक्त रकम सहयोग गरेको जनाएको छ।
पुस्तकालयले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व रहेको भन्दै मानवीय सहयोगका लागि आफ्नो तर्फबाट सहयोग रकम प्रदान गरेको हो।
भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न संघसंस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा सर्वसाधारणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन्।
प्रतिभा सामुदायिक पुस्तकालयको यस सहयोगले विपद्का बेला सामाजिक संस्थाहरूले निर्वाह गर्नुपर्ने मानवीय दायित्व र सामाजिक उत्तरदायित्वको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।
