धनगढी- दार्चुलाबाट उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल आएका ५७ वर्षीय अर्जुन सिंह महरा बेपत्ता भएका छन्।
दार्चुलाको महाकाली नगरपालिका–३ बाँज घर भएका महरा बिहीबार बिहानदेखि परिवारको सम्पर्कबाट बाहिरिएका हुन्। केही समयअघि लडेर टाउकोमा चोट लागेपछि उनी उपचारका लागि सेती प्रादेशिक अस्पताल आएका थिए। उनको टाउकोमा दुई ठाउँमा गहिरो घाउ भएकाले टाँका लगाइएको थियो। उनी पिसाबको थैली (युरिन ब्याग) समेत बोकेर हिँडिरहेका थिए।

अस्पतालमा उपचारका लागि लाइनमा बस्ने क्रममा परिवारबाट छुट्टिएका महरा बिहीबार बिहान करिब १०ः५६ बजे अस्पतालको गेटबाहिर निस्किएको जानकारी प्राप्त भएको छ। त्यसपछि उनको अवस्था र ठेगाना हालसम्म पत्ता लाग्न सकेको छैन।
महराको खोजीका लागि प्रहरीलाई समेत जानकारी गराइसकिएको छ। प्रहरीले उनको हुलिया तथा फोटो विभिन्न स्थानमा पठाएर खोजी कार्य अघि बढाएको जनाएको छ।
महरालाई धनगढी तथा आसपासका क्षेत्रमा देख्नुहुने वा उहाँबारे कुनै जानकारी प्राप्त गर्नुहुने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा उहाँका परिवारलाई तत्काल खबर गरिदिन अनुरोध गरिएको छ।
