पश्चिम नेपालमा मनसुन सक्रिय, कैलाली–कञ्चनपुरसहित विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक रहेकाले पश्चिम नेपालमा वर्षाको गतिविधि बढेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा र नवलपुरलगायतका क्षेत्रमा अत्यधिक वर्षा मापन भएको छ।

Navadurga sun

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान छ।

तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान तथा मधेस प्रदेशसहित कोशी र बागमतीका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

आज राति हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा समेत मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी, तल्लो भू–भागमा डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। पश्चिम नेपालमा मनसुनी गतिविधि बढी सक्रिय रहेको यसअघि पनि मौसम विभागले जनाएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...