अत्तरिया- सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै २०३ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १०३ जना गम्भीर र ११८ जना सामान्य घाइते भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार साउन १ देखि ३० गतेसम्म प्रदेशभर भएका दुर्घटनामा मानवीय क्षति उच्च देखिएको हो।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले शनिबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार साउनमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ३८९ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ। कारबाहीबाट ३७ लाख ९० हजार ४०० रुपैयाँ जरिवाना असुल भएको छ।
त्यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउने १ हजार ६७ जना चालक कारबाहीमा परेका छन्। उनीहरूबाट ४ लाख ३८ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
क्षमताभन्दा बढी यात्रु तथा मालसामान बोकेका ४५७ वटा सवारीसाधनमाथि कारबाही गरी ३ लाख ८२ हजार ५०० रुपैयाँ जरिवाना गरिएको छ।
कैलालीको चिसापानीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र अस्थायी ट्राफिक प्रहरी पोस्ट चिसापानीले गरेको संयुक्त चेकजाँचका क्रममा ७२ वटा सवारीसाधन जाँच गरिएको थियो। तीमध्ये ७ वटामाथि कारबाही गरी २७ हजार ५०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।
यी कारबाहीबाट मात्रै साउन महिनामा ४६ लाख ३८ हजार ४०० रुपैयाँ जरिवाना असुल भएको छ।
लागुऔषध सेवन गर्ने चालक पनि कारबाहीमा
ट्राफिक प्रहरीले चालकलाई लक्षित गरी लागुऔषध सेवन परीक्षणलाई समेत निरन्तरता दिएको छ। साउनमा दुईपटक गरिएको परीक्षणका क्रममा ९ जना चालकमा लागुऔषध सेवन गरेको पोजिटिभ देखिएको प्रहरीले जनाएको छ।
पोजिटिभ देखिएका चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ। एक जना चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय डडेल्धुरालाई लेखी पठाइएको प्रहरीले जनाएको छ।
यसैबीच, स्वामित्व नखुलेका १७ वटा मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी कैलाली भन्सार कार्यालय धनगढी पठाइएको छ। गैरकानुनी रूपमा सञ्चालन गरिएका तथा सवारीधनी नखुलेका थप १५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साउनमा मात्रै २०३ वटा सवारी दुर्घटना हुनु र १२ जनाको ज्यान जानुले सुदूरपश्चिमको सडक सुरक्षा अवस्था अझै चुनौतीपूर्ण रहेको देखिएको छ। ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि नियम उल्लङ्घन गर्ने चालक तथा सवारीसाधनमाथिको कारबाही, मादक तथा लागुऔषध सेवन गरी सवारी चलाउनेमाथि निगरानी, ओभरलोड नियन्त्रण र नियमित चेकजाँचलाई प्राथमिकतामा राखेको जनाएको छ।
