सुदूरपश्चिममा ओल्के पर्व मनाउँदै, आज प्रदेशभर सार्वजनिक बिदा

अत्तरिया- सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । यस पर्वको अवसरमा सरकारले आज एक दिन प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा भदौ १ गते ओल्के पर्व मनाउने चलन छ । ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो ।

Navadurga sun

आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठोरमसिनो खानु, हात-खुट्टामा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।

गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुशीयालीमा सदभाव बाँड्ने गरिन्छ । वर्षायाममा झाडापखाला, हैजा, लुतो, कुष्ठरोगजस्ता रोग लाग्ने भन्दै ती रोगबाट बाँचिएको खुसी साट्न पनि यो पर्व मनाउने चलन छ ।

यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रुपमा पनि रहिआएको छ। यो पर्वका दिन विवाहिता छोरीलाई माइत आमन्त्रण गरेर सेलरोटी, माणा, निसौसे, डुब्कालगायतका मिष्ठान्न परिकार खुवाउने प्रचलन छ ।

ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ । यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ । यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिमा साँझ गाउँका सबै जना भेला भएर जलाउने गर्छन् ।

यसलाई ‘बूढी पोल्ने’ भनिन्छ । बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने विश्वास पनि छ । राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा ‘बूढी पोल्ने’ पर्व प्रत्येक असोज १ गतेका दिनमा मनाउने चलन रहेको स्थानीय बताउँछन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...