काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसमक्ष राखेका १५ बुँदे माग पूरा नभएको भन्दै आजदेखि देशभरका म्यानपावर कार्यालय बन्द गर्ने भएको छ।
सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्यसमेत रोक्ने निर्णय व्यवसायीहरूले गरेका हुन्।

संघले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट म्यानपावर व्यवसायीले लिन पाउने सेवा शुल्क परिमार्जन, वैदेशिक रोजगार विभागबाट भएका कारबाही फिर्ता लगायतका १५ बुँदे माग अघि सारेको छ।
संघका अध्यक्ष डिकबहादुर खत्रीका अनुसार आन्दोलनका कार्यक्रमसँगै सरकारसँग वार्तालाई पनि निरन्तरता दिइनेछ। उनका अनुसार सोमबार युवा तथा श्रम तथा रोजगार मन्त्रालयमा व्यवसायीका मागबारे थप छलफल हुँदैछ।
यसअघि शुक्रबार पनि मन्त्रालय र व्यवसायीबीच प्रारम्भिक चरणको छलफल भएको थियो। छलफलमा व्यवसायीहरूले आफ्ना मागबारे जानकारी गराउँदै धारणा राखेका थिए भने मन्त्रालयका अधिकारीहरूले सरकारबाट भइरहेको प्रगति तथा कार्य विवरणबारे जानकारी दिएका थिए।
संघले गत ७ साउनमा विशेष भेला आयोजना गरी सरकारसमक्ष १५ बुँदे माग अघि सारेको थियो। माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले आन्दोलनस्वरूप देशभरका म्यानपावर कार्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
