धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा प्रवाह र व्यवस्थापन सुधारका लागि हरेक १५ दिनमा अस्पतालको अनुगमन गर्ने घोषणा गरेका छन्।
शुक्रबार मुख्यमन्त्री नियुक्त भएका भट्टले आइतबार सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापासहित धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा उनले आकस्मिक कक्षसँग जोडिएको शौचालयसहित अस्पतालका विभिन्न स्थानको निरीक्षण गर्दै सरसफाइ र सेवा व्यवस्थापन चुस्तदुरुस्त बनाउन अस्पताल प्रशासनलाई निर्देशन दिए।

मुख्यमन्त्री भट्ट र सामाजिक विकासमन्त्री थापाले अस्पतालमा उपचाररत बिरामीसँग प्रत्यक्ष भेट गरी उनीहरूका समस्या तथा गुनासा समेत सुने। बिरामीहरूले उपचारका क्रममा भोग्नुपरेका समस्या र अस्पतालबाट प्राप्त भइरहेको सेवाका विषयमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए।
अनुगमनपछि मुख्यमन्त्री भट्टले प्रदेश सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेर काम गर्ने बताएका छन्। प्रदेशकै सबैभन्दा बढी बिरामीको चाप रहने सेती प्रादेशिक अस्पतालमा जनशक्ति तथा भौतिक पूर्वाधारको अभावका कारण सेवा प्रवाह प्रभावित हुँदै आएको छ।
अस्पतालमा ५० शय्याको स्वीकृत दरबन्दी रहे पनि बिरामीको चाप भने क्षमताभन्दा निकै बढी हुने गरेको छ। अस्पताल व्यवस्थापन समिति तथा विभिन्न कार्यक्रममार्फत चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त गरी जनशक्ति व्यवस्थापन गरिए पनि आवश्यकताअनुसार पर्याप्त जनशक्ति र स्रोतसाधन उपलब्ध हुन सकेको छैन।
पर्याप्त जनशक्ति, भौतिक पूर्वाधार तथा आवश्यक स्रोतसाधनको अभावका कारण प्रभावकारी स्वास्थ्य सेवा लिन समस्या भइरहेको गुनासो बिरामीहरूले गर्दै आएका छन्।
मुख्यमन्त्री भट्टले नियमित रूपमा अस्पतालको अनुगमन गर्ने घोषणाले सेवा सुधार, सरसफाइ, जनशक्ति व्यवस्थापन तथा बिरामीमैत्री वातावरण निर्माणमा अस्पताल प्रशासनलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।
