देशभर मनसुन फैलियो, पाँच प्रदेशका भारी वर्षाको सम्भावना

नेपालभर यस वर्षको मनसुन प्रणाली पूर्ण रूपमा फैलिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार भएसँगै देशभर मनसुन पुगेको जनाएको हो।

Ganyapdhura gau

महाशाखाका अनुसार नेपालमा सामान्यतया जुन १३ तारिखदेखि पूर्वी भू-भागबाट मनसुन प्रवेश गरी करिब एक साताभित्र देशभर फैलिने गर्छ। तर यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो असार ५ गते (जुन १९) कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो। त्यसपछि क्रमशः विभिन्न प्रदेशमा विस्तार हुँदै १२ दिनपछि देशभर मनसुन फैलिएको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा बादल लागेको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर पूर्णतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, पहाडी भू-भागका धेरै स्थान र तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। लगातारको वर्षासँगै बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले नदी–खोला आसपासका बासिन्दा, यात्रु तथा सरोकारवाला निकायलाई मौसमसम्बन्धी अद्यावधिक सूचना पालना गर्दै आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

Couple
Loading...