धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख नजिर मियाँले उनीहरूलाई शपथ गराएका हुन्।
एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापा सामाजिक विकासमन्त्री, प्रमुख सचेतक चक्र मल्ल आर्थिक मामिलामन्त्री र दमन भण्डारी भूमि व्यवस्था तथा सहकारीमन्त्री बनेका छन्। यस्तै, जानकी ऐर बमले आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्।

एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेपछि तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका हुन्।
यसअघि शुक्रबार नै नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ लिएका थिए। मुख्यमन्त्री भट्टले शपथ लिए पनि नेपाली कम्युनिष्ट पार्टीबाट भने तत्काल कुनै मन्त्री नियुक्त भएका छैनन्।
