अत्तरिया- राजासहितको सनातन हिन्दू राष्ट्र नेपालको पक्षमा जनताको हस्ताक्षर अभियान–२०८३ तथा अन्तरक्रिया कार्यक्रम आज कैलालीको अत्तरियास्थित सत्कार होटलमा सम्पन्न भएको छ।




“राष्ट्रपति होइन, राजा चाहिन्छ” भन्ने नारासहित आयोजित कार्यक्रममा शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष तथा अभियानका केन्द्रीय संयोजक पशुपति खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा सहभागी हुन अत्तरिया पुग्नुभएका खड्कालाई गेटास्थित विमानस्थलमा स्वागत गरिएको थियो। त्यसपछि अत्तरिया चौराहादेखि सत्कार होटलसम्म बाजागाजासहित र्याली निकालिएको थियो।





कार्यक्रमको औपचारिक सञ्चालन शाही युवा शक्ति नेपालका प्रदेश सचिव हेमबहादुर चन्दले गर्नुभएको थियो भने अध्यक्षता शाही युवा शक्ति नेपालका सुदूरपश्चिम संयोजक राजबहादुर खड्काले गर्नुभएको थियो।


कार्यक्रममा राप्रपाका युवा नेता तथा केन्द्रीय सदस्य निरञ्जन थापा, समाजसेवी राजेन्द्र गिरी, शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य रोमजंग स्वार, समाजसेवी जनक कुँवर, रमेशचन्द्र मल्ल, शिवराज भण्डारी, बिमला चौधरीलगायतको उपस्थिति रहेको थियो। विश्व हिन्दू महासङ्घका राजप्रसाद जोशीले स्वागत मन्तव्य दिनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका संयोजक पशुपति खड्काले नेपालमा सनातन हिन्दू धर्म र राजसंस्थाको पुनःस्थापनाका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्ने र राजसंस्था देशको अभिभावकीय संस्थाका रूपमा आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
खड्काले राजनीतिक दलहरूले देशलाई अस्थिरतातर्फ लगेको आरोप लगाउँदै राजसंस्था पुनःस्थापना हुने दाबीसमेत गर्नुभयो। उहाँका अनुसार राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर अभियान देशभर तीव्र रूपमा अघि बढिरहेको छ। कैलालीमा हालसम्म करिब १,४०० हस्ताक्षर संकलन भइसकेको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा गौ संरक्षणको विषयसमेत उठाइएको थियो। वक्ताहरूले हिन्दू धर्मावलम्बीहरूले गौमातालाई धार्मिक रूपमा सम्मान गर्दै आए पनि सडक तथा सार्वजनिक स्थानमा रहेका गाईको संरक्षणमा पर्याप्त ध्यान पुग्न नसकेको बताएका थिए। गौ संरक्षणका लागि राज्य र समाज दुवैले प्रभावकारी पहल गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
कार्यक्रममा शाही युवा शक्ति नेपालका विभिन्न तहका पदाधिकारी तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। अभियानअन्तर्गत आगामी दिनमा पनि राजसंस्था र सनातन हिन्दू राष्ट्रको पक्षमा जनमत तथा हस्ताक्षर संकलनलाई निरन्तरता दिने आयोजकको भनाइ छ।




