गोदावरी टेम्पो प्रकरण : वरिष्ठ डिभिजन वन अधिकृतसहित दुई जनाविरुद्ध सार्वजनिक शान्तिविरुद्ध मुद्दा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–४ गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा स्थानीयको टेम्पो भीरबाट खसालिएको घटनामा संलग्न रहेको आरोपमा डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार टेम्पो चालक धनु धामीले दिएको किटानी जाहेरीका आधारमा दुवै जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो। घटनाबारे थप अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसैबीच, घटनामा नियन्त्रणमा लिइएका वन रक्षकसहित अन्य १० जना वन कर्मचारीलाई आवश्यक परे उपस्थित हुने सर्तमा हाजिरी जमानीमा रिहा गरिएको छ।

गत साता वन अतिक्रमण हटाउने अभियानका क्रममा स्थानीय धनादेवी धामीले खुद्रा व्यापार सञ्चालनका लागि प्रयोग गर्दै आएको टेम्पोलाई वन कर्मचारीहरूले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियो सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भएको थियो भने १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो।

घटनाको सत्यतथ्य छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले घटनामा संलग्नता, जिम्मेवारी र क्षतिको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बुझाउने जनाइएको छ।

वन संरक्षणको नाममा गरिएको कार्यशैलीमाथि प्रश्न उठिरहेका बेला यो घटनाले वन प्रशासनको जिम्मेवारी, अधिकार प्रयोगको सीमा र नागरिकको सम्पत्ति संरक्षणको विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ।

Loading...