नौ वर्षदेखि बेपत्ता श्रीमान् को पर्खाइमा पुष्पा, अत्तरिया खबरद्वारा आर्थिक सहयोग

अत्तरिया- गोदावरी नगरपालिका–१० डमौराकी पुष्पा भाट (बोहरा) विगत नौ वर्षदेखि बेपत्ता श्रीमानको पर्खाइमा छन् । श्रीमान् रोजगारीका लागि भारत गएर सम्पर्कविहीन भएपछि आर्थिक अभावसँग जुध्दै आएकी पुष्पालाई अत्तरिया खबर राष्ट्रिय दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा आर्थिक सहयोग गरेको छ ।

सोमबार अत्तरियामा आयोजित कार्यक्रममा अत्तरिया खबरले पुष्पालाई १० हजार रुपैयाँ नगद सहयोग गरेको हो । उक्त रकम गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) ले पुष्पालाई हस्तान्तरण गरे ।

Navadurga sun

विवाह भएको सात महिना मात्रै पुगेको अवस्थामा उनका श्रीमान् रोजगारीका लागि भारत गएका थिए । त्यतिबेला पुष्पा गर्भवती थिइन् । भारतको केराला पुगेका उनका श्रीमान् करिब छ महिनासम्म परिवारको सम्पर्कमा रहे पनि त्यसपछि अचानक सम्पर्कविहीन भएका हुन् ।

श्रीमान् सम्पर्कविहीन भएपछि पुष्पाको जीवनमा आर्थिक तथा पारिवारिक संकट थपिँदै गयो । अहिले उनी ज्याला–मजदुरी गरेर आठ वर्षीय छोराको पालनपोषण गर्दै आएकी छन् ।

“छोराले आजसम्म आफ्नो बुबालाई देखेको छैन । म सात महिनाको गर्भवती हुँदा श्रीमान् भारत गएर बेपत्ता हुनुभएको थियो,” पुष्पाले भनिन्, “अहिले छोरा ‘मम्मी, बाबालाई कहिले भेट्छौ ?’ भनेर सोधिरहन्छ ।”

श्रीमानको खोजीका लागि आफन्त तथा आफ्नो तर्फबाट सम्भव भएसम्म पहल गरे पनि अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको पुष्पाले बताइन् । भारतमा समेत खोजीका लागि प्रयास गरिएको भए पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन ।

“आफ्नो अवस्था निकै नाजुक छ । पहुँच भएसम्म आफन्तहरूले पनि खोजीका लागि पहल गर्नुभयो, तर उहाँ कतै भेटिनुभएन,” उनले भनिन्, “अझै पनि श्रीमान्को खोजीका लागि सहयोग गरिदिन भन्दै हिँडिरहेकी छु ।”

पुष्पाको सबैभन्दा ठूलो चाहना भनेको एकपटक भए पनि आफ्नो छोरालाई उसको बुबासँग भेट गराउनु हो । “एकचोटी भए पनि छोरालाई ‘यो तेरो बाउ हो’ भनेर उहाँको अनुहार देखाउने इच्छा छ,” उनले भावुक हुँदै भनिन् ।

आर्थिक सहयोग हस्तान्तरण गर्दै वडाध्यक्ष शाहीले अत्तरिया खबरले आफ्नो वडाकी विपन्न महिलालाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । उनले पुष्पाका श्रीमान्को खोजीका लागि आफूले पनि पहल गर्दै आएको भए पनि हालसम्म सफलता प्राप्त हुन नसकेको बताए ।

वडाध्यक्ष शाहीले आगामी दिनमा पनि पुष्पाका श्रीमानको खोजी तथा उनको परिवारको जीवनयापन सहज बनाउन आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता जनाए ।

अत्तरिया खबर राष्ट्रिय दैनिकका प्रकाशक राजकुमार साउँदले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत पुष्पाको परिवारलाई सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए । उनले पत्रकारिता केवल समाचार सम्प्रेषणमा सीमित नभई समाजमा आवश्यक सहयोग र सकारात्मक परिवर्तनका लागि पनि भूमिका खेल्नुपर्ने बताए ।

२०७७ भदौ १ गतेदेखि सञ्चालनमा आएको अत्तरिया खबर राष्ट्रिय दैनिकले स्थापना कालदेखि नै आफ्नो वार्षिकोत्सवका अवसरमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । पत्रिकाले अत्तरिया अनलाइनसमेत सञ्चालन गर्दै आएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...