धनगढी- कैलालीको बर्दगोरिया गाउँपालिका–१, मुडा पुलनजिक सोमबार बिहान ट्रकको ठक्करबाट नेकपा एमालेकी नेतृ सावित्रा सापकोटाको मृत्यु भएको छ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्यसमेत रहेकी सापकोटालाई आफ्नै लेनमा स्कुटर चलाउँदै गर्दा ट्रकले ठक्कर दिएको बर्दगोरिया–१ का वडाध्यक्ष मिठुन गौतमले जानकारी दिए।

प्रहरीका अनुसार सापकोटाले चलाएको से १–०१–००१ ख ३६९५ नम्बरको स्कुटरलाई लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको हो। ट्रक नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएका थिए।
दुर्घटनामा गम्भीर घाइते सापकोटालाई उपचारका लागि तत्काल दोदोधरा अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय सुखडले ट्रक र चालक गिरीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बनेकी थिइन्। स्थानीय राजनीतिमा सक्रिय सापकोटाको असामयिक निधनपछि एमाले कैलाली तथा सुदूरपश्चिमको राजनीतिक वृत्तमा शोक छाएको छ।
