देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा देशको पश्चिमी भागमा सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वी भागमा सरदर स्थान आसपास रहेको छ।
मनसुनी वायुको प्रभावका कारण हाल देशभर सामान्यतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
