मुक्तिनाथ क्षेत्रमा हिमपात, यात्रामा नजान प्रशासनको आग्रह

काठमाडौं- मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात भएको छ । मुक्तिनाथ दर्शनका लागि गएकाहरु हिमपातका कारण प्रभावित भएका छन् ।

Ganyapdhura gau

मुक्तिनाथ दर्शनका लागि गएराति मुस्ताङ पुगेका बसन्त गौतमले भने, ‘हामी हिजो साँझ यहाँ आएका थियौं । त्यतिबेला अवस्था सामान्य थियो । आज बिहान पाँच बजेतिर उठेर मन्दिर जाऔं भन्दा त हिउँ परेको रहेछ ।’ उनले बाटोमा हिउँ जमेकाका कारण हिँडडुल गर्न कठिन भएको बताए ।

Navadurga sun
Godawari sandesh

‘हामी मन्दिरभन्दा ठिक तलको क्षेत्रको होटलमा छौं, यहाँ तीन–चार इञ्च हिउँ जमेको छ,’ गौतमले अनलाइनखबरसँग भने, ‘मान्छे–गाडीहरु रोकिएका छन् ।’ होटल–पसलवालाले आफ्नो अगाडि जमेको हिउँ बेल्चाको सहायताले पन्छाए पनि सडकको हिउँ स्काभेटर लगाएरै पन्छाउनुपर्ने अवस्था रहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै हिमपात भइरहेकाले यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ ।

Dadeldhura hospital

मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ । त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्न/नगराउन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।

मुस्ताङको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरुले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर यात्रा गर्न भनिएको छ ।

तिहारको छेकोमा मुस्ताङसहित हिमाली क्षेत्रमा पदयात्रामा जाने ह्वात्तै बढेका छन् । छठसम्म बिदा भएकाले पदयात्रीको संख्या ह्वात्तै बढेको तर अब कार्यालयहरू खुलेसँगै बिस्तारै कम हुने अनुमान गरिएको छ ।

मौसम प्रतिकुल हुनसक्ने देखिएकाले सचेत गराउन र हेलचेक्रयाइँ नगर्न प्रजिअ भुसालको आग्रह छ ।

गण्डकी प्रदेशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र वर्षा हुने देखिएको छ । ‘हिमपात र वर्षाका कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमासमेत असर पर्ने सम्भावना भएकाले सतर्कता अपनाउनु हुन अनुरोध छ,’ मौसम पूर्वानुमान महाशाखाले सूचित गरेको छ ।

Couple
Loading...