

धनगढी- नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन धनगढीमा सम्पन्न भएको छ । अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टी एकता भए सुदूरपश्चिमका सबै सिट (१६ सिट) जित्न सकिने दाबी गरे ।


भट्टले अधिवेशनलाई सम्बोधन गर्दै, “पार्टीभित्र दृढ एकता कायम भयो भने सुदूरपश्चिममा एमालेको जित सुनिश्चित हुन्छ, तर एकता नभए हालका दुई सिट पनि गुम्न सक्छ,” उनले भने । उनले एमालेमाथि आन्तरिक र बाह्य आक्रमण भइरहेको भन्दै जनवर्गीय संगठनहरू सक्रिय रहनुपर्ने बताए ।



अधिवेशनमा महासङ्घका उपाध्यक्ष दीपेन्द्र दाहालले महासङ्घको भूमिकाको चर्चा गर्दै संगठन सुदृढीकरणमा योगदान दिने प्रतिबद्धता जनाए । एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले क्षेत्रीय खेलकुद सम्भावनाको चर्चा गर्दै स्तरीय पूर्वाधारको आवश्यकता औँल्याए ।
प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले प्रदेश सरकारको ध्यान खेलकुद नीतिमा केन्द्रित गरिनु पर्नेमा जोड दिए । महासङ्घका सचिव विष्णु चन्दले स्थानीय खेल संरचना र कार्यक्रमहरूमा महासङ्घको सक्रियता रहेको जानकारी गराए ।
अधिवेशनमा विभिन्न खेलकुदकर्मीलाई सम्मान गरिएको थियो भने महासङ्घ अध्यक्ष प्रकाश चन्दले नयाँ नेतृत्वमार्फत अभियानलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका छन् ।





