सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा नेकपा एस ठूलो दल, थप तीन सांसदको सनाखत




अत्तरिया, २० भदाै– सुदूरपश्चिममा एकीकृत समाजवादी एमालेभन्दा ठूलो दल बनेको छ । सुदूरपश्चिम प्रदेशका थप तीन सांसदले एकीकृत समाजवादी रोजेपछि एमाले सानो दल भएको हो ।



सांसदहरु तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले आज निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका हुन् । यस अघि सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री रहेकी पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मना साउँद, पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, सांसदहरू बलबहादुर सोडारी,अम्मर साउँद,कुलबिर चौधरी, सुशिला बूढाथोकी र एमाले प्रमुख सचेतक दुर्गा कामीले नेकपा ९एकीकृत समाजवादी० को पक्षमा सनाखत गरेका थिए ।


निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरुलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ । अब सुदूरपश्चिम प्रदेशसभामा एमालेका सभामुखसहित १२ र एकीकृत समाजवादीका १३ सांसद भएका छन् ।



