चार स्थानीय तहले एकल पुरुषलाई भत्ता दिने




बझाङ, २२ साउन- बझाङका चार स्थानीय तहले एकल पुरुषलाई पनि भत्ता दिने भएका छन् । स्थानीय तहले कार्यविधि बनाएर श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन बिताइरहेका ५० वर्ष भन्दा माथिका एकल पुरुषलाई मासिक ५ सय देखी २ हजार रुपैयाँसम्म सामाजिक सुरक्षा भत्ता दिँदै आएका छन् ।



एकल पुरुष भत्ता दिनेमा दुर्गाथली, थलारा, वित्थडचिर गाउँपालिका र जयपृथ्वी नगरपालिका रहेका छन् । जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिकाले २०७७ सालमा कार्यविधि बनाई नीति तथा कार्यक्रममा समावेश गरी भत्ता दिन सुरु गरेका थिए भने दुर्गाथली र वित्थडचिर गाउँपालिकाले पनि कार्यविधि पारित गरेर यही आर्थिक वर्षको साउन देखि एकल पुरुषलाई भत्ता दिने भएका छन् ।


श्रीमतीको निधनपछि एकल पुरुषसमेत पीडित हुने अवस्थालाई हटाउन एकल पुरुष भत्ताको व्यवस्था गरेको दुर्गाथली गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले बताए । वित्थडचिर गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष हर्क बोहराले समाजमा एकल महिलाभन्दा एकल पुरुषलाई जीविकोपार्जन गर्न कठिन भएकाले गाउँपालिकाबाट एकल पुरुषलाई भत्ताको व्यवस्था गरिएको बताए ।
समाजमा एकल महिलाजस्तै एकल पुरुषलाई पनि जीविकोपार्जन गर्न कठिन हुने भएकाले नगरपालिकाले एकल पुरुषलाई भत्ता प्रदान गर्दै आएको जयपृथ्वी नगरपालिका प्रवक्ता सविता खड्काले बताए ।



