बाजुराका दुई जना बालबालिकाको दिल्लीमा मृत्युु




अत्तरिया, २० साउन– भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै सुदूरपश्चिमका दुई जना बालबालिकाको मृत्यु भएको छ । दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका–५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो ।



बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकमा गएर औषधी किनेर विकले छोराछोरीलाई खुवाएका थिए । क्लिनिकका डाक्टर बेदकुमार गर्गले दिएको उक्त औषधि खाएपछि १०/१० मिनेटको फरकमा दुवै दिदी–भाइको मृत्यु भएको अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बताए ।


उनीहरुको मृत्युपछि डाक्टरका नाममा विकको परिवारले स्थानीय शालिमारबाग प्रहरी स्टेशनमा उजुरी दिंदै उनीमाथि कारबाहीको माग गरेको खड्काले बताए । अखिल भारत नेपाली एकता मञ्चको सहयोगमा परिवारका सदस्यले डाक्टरविरुद्ध उजुरी दिएका हुन् । अहिले ती डाक्टरलाई प्रहरीले निगरानीमा राखे पनि नियन्त्रणमा नलिएको पीडित पक्षको भनाइ छ । मृतक दुवै जनाको मंगलबार हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।



