धनगढी उप-महानगरपालिकाले बिद्युतीय कर भुक्तानी सेवा शुभारम्भ भएसँगै कर अनलाईनबाट बुझाउन सकिने




धनगढी, २१ असार– धनगढी उप-महानगरपालिकाले बिद्युतीय कर भुक्तानी सेवा शुभारम्भ भएसँगै कर अनलाईनबाट बुझाउन सकिने जनाएको छ । धनगढी उप-महानगरपालिका कार्यालयलाई बुझाउनुपर्ने कर अव अनलाईन प्रणालिबाट बुझाउन सकिने भएको हाे । सोमबार उप-महानगरपालिका कार्यालयको कर अनलाइन तथा खल्ती र कनेक्ट आई पि एस बाट जुनसुकै ठाउँबाट भएपनि कर तिर्न सकिने ब्यवस्थाको सुरुवात भएकाे छ । यो प्रणाली सुदूरपश्चिम प्रदेश अन्तरगत पहिलोपटक धनगढी उप–महानगरपालिकामा सञ्चालनमा ल्याएको हो । यस प्रणालिले नगरवासीलाई एकदमै सजिलो हुने भएको छ ।



कोभिड १९ को महामारीका कारण नागरिक आफै उप–महानगरपालिकामा तथा मातहतका वडा कार्यालयहरुका कर बुझाउनुपर्ने प्रावधान रहँदै आएकोमा अव अनलाइन प्रणालीबाट करदाताले धनगढी उप–महानगरपालिका कार्यालयको कर पोर्टलमा आफ्नो युजर बनाइ तथा खल्ती मोबाइल वालेटको मोबाइल एपबाट सहजै तरिकाले तिर्न सकिने छ । उप–महानगरपालिका कार्यालयले एक कार्यक्रम आयोजना गरि अनलाइन विधुतिय प्रणालीबाट राजस्व भुक्तानी गर्न सकिने प्रणालीको नगर प्रमुख नृप बहादुर वड र नगर उप–प्रमुख सुशीला मिश्र भट्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए।


उक्त उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नृप बहादुर वडले नगर बासीहरुले आफुले तिर्नु पर्ने कर अनलाइनबाट तिर्दा सहज हुने बताए । धनगढी उप-महानगरपालिकालाई प्रविधि मैत्री बनाउदै लगेको पनि नगरप्रमुख वडले बताए। हाल उप–महानगरपालिका सञ्चालनमा रहेको एकिकृत कर संकलन प्रणाली सफ्टवेयरमा दर्ता भएका करदाताहरुले उप–महानगरपालिकाले सञ्चालनमा ल्याएको पोर्टलमा आफ्नो युजर रजिष्ट्रेशन गरि स्वदेश तथा विदेश आफु रहेको स्थानबाट उक्त कर तिर्न सकिने नगरपालिकाका सुचना प्रविधि अधिकृत सूर्यप्रकाश उपाध्यायले बताए ।
उक्त पोर्टल तथा एपबाट कर तिरेको जानकारी करदाताको मोबाइल तथा ईमेलमा प्राप्त हुने र सो करदाताले बुझाएको कर रकम उप–महानगरपालिका कार्यालयको बैक खातामा जम्मा हुने गर्दछ । अनलाइन प्रणाली सुरु भएसँगै करदाता आपूले तिर्नु बुझाउनु पर्ने सम्पुर्ण कर आफु रहेको स्थानबाट भुक्तानी गर्न सकिनेछ यसले गर्दा कर तिर्न करदातालाइ नगरपालिका तथा वडा कार्यालयमा धाइ लामो लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्त हुने उपाध्यायले बताए ।



