कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरपालिका वडा नं. ४ महेन्द्रनगरको खुला मञ्चमा माघ दोस्रो साता देखि तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको हो ।


सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा हुने भएको जनाइएको छ । सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहले यस अघि दुई पटक सम्पन्न भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताको सफलतापछि तेस्रो पटक कञ्चनपुरमा गर्न लागेको बताए ।


भलिबलका खेलाडी र खेलकुद क्षेत्रको वृद्धि विकासका लागि तेस्रो पटक राष्ट्रिय मुख्यमन्त्री भलिबल प्रतियोगिता आयोजना गर्न लगेको उनले बताए । सदस्य सचिव सिंहले प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढाएको बताए । उनका अनुसार प्रतियोगितामा सातै प्रदेश सहित तीन विभागीय गरेर १० टिमको सहभागिता हुनेछ ।

सातै प्रदेशका सात र सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाका टिमबीच प्रतियोगिता हुनेछ । प्रतियोगिता विजेता टिमलाई नगद ४ लाख, उपविजेतालाई २ लाख र तेस्रो हुने टिमलाई १ लाख नगद सहित ट्रफी, मेडलका साथै प्रमाणपत्र प्रदान गरिनेछ । चौथो हुने टिमलाई सान्त्वना स्वरूप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ ।
सेमिफाइनल खेलमा ५ हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०-१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । सदस्य सचिव सिंहले प्रतियोगितामा झन्डै ८० लाख रुपैयाँ विनियोजन गरेको बताए । उनले खेलाडी, प्रशिक्षक एवं स्वयंसेवकका लागि आयोजकले बस्ने-खाने प्रबन्ध मिलाएको बताए ।
भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले राष्ट्रिय स्तरमै भलिबलका खेलाडी कञ्चनपुर, कैलाली सहित सुदूरपश्चिममा उर्वरा भएकाले प्रतियोगिताले थप उत्साह उत्पन्न गराउने बताए । नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष जितेन्द्र बहादुर चन्दले प्रतियोगिताले क्षेत्रका रहेका भलिबलका थप खेलाडीलाई खेलप्रति उत्साहित गर्ने बताए । सातै प्रदेशबाट उत्कृष्ट खेलाडी छनोट गरेर राष्ट्रिय टिममा समेत सहभागिता गराउने अध्यक्ष चन्दले बताए ।
सरकारले भलिबललाई राष्ट्रिय खेलको घोषित गरेसँगै संघले समेत प्रतियोगिता त्यही अनुरूप अघि बढाइरहेको बताए । केन्द्रीय अध्यक्ष चन्दले प्रतियोगिताबाट प्रदेश, राष्ट्र मात्रै नभई अन्तर्राष्ट्रिय स्तर सम्मै नेपालकै पहिचान गर्ने वातावरण बनाइने बताए ।
कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिंह मौनीले जिल्लामा हुने ऐतिहासिक प्रतियोगिता सफल पार्न संघले खेल्नु पर्ने सबै भूमिका निर्वाह गर्ने बताए । उनले तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबलको प्रतियोगिता सम्पन्न गरेर जिल्लाका खेलकुद पर्यटनको समेत प्रवर्द्धन गर्ने बताए ।





