अत्तरिया- कैलालीको अत्तरियास्थित सत्यवती एकेडेमीले प्राकृतिक विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रु. २ लाख ८४ हजार ८ सय ५६ सहयोग गरेको छ।
रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरी कोषमा हस्तान्तरण गरेको हो।

विपद्को कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालयका सञ्चालक, शिक्षक, कर्मचारी तथा विद्यार्थीले सहयोग अभियानमा ऐक्यबद्धता जनाएका थिए।
विद्यालय प्रशासनका तर्फबाट रु. १ लाख ११ हजार १ सय ११, शिक्षक तथा कर्मचारीले प्रथम त्रैमासिक परीक्षामा नास्ताबापत प्राप्त रकमबाट रु. ७३ हजार ५ सय, विद्यार्थीले आफ्नो एक दिनको नास्ता खर्चबाट रु. ६४ हजार २ सय ४५ सहयोग गरेका छन्।
त्यसैगरी विद्यार्थी विभुति कडायतले चाडपर्व तथा शुभकार्यमा दक्षिणाबापत प्राप्त रकममध्ये बचत गरेको रु. २५ हजार र विद्यार्थी विपिन कडायतले दक्षिणाबापत प्राप्त रकमबाट रु. ११ हजार बाढीपीडितका लागि सहयोग गरेका छन्।
यसरी विद्यालय परिवारबाट संकलित कुल रकम रु. २ लाख ८४ हजार ८ सय ५६ रकम कोषमा हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।
राहत संकलन अभियानमा विद्यार्थीहरुको सहभागिता विशेष प्रेरणादायी देखिएको विद्यालयको भनाइ छ। विद्यार्थीहरुले आफ्नो एक दिनको नास्ता खर्चसमेत कटाएर विपद्मा परेका नागरिकका लागि सहयोग गरेका थिए।
विद्यालय प्रशासनका अनुसार सानै उमेरदेखि विद्यार्थीमा सामाजिक सेवा, मानवीय संवेदना, दया, सहयोग र भ्रातृत्वको भावना विकास गराउने उद्देश्यले यस्ता गतिविधिलाई प्रोत्साहन गरिएको हो।
विपद्का बेला विद्यालय परिवारले गरेको यो सहयोगले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा थोरै भए पनि योगदान पुग्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।
