एलपीएल प्रतियोगिता : धनगढीको शारदा र कञ्चनपुरको शारदा सरस्वती विजयी





धनगढी- धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटलफ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत मंगलबार भएका खेलमा धनगढीको शारदा मावि र कञ्चनपुरको शारदा सरस्वती विजयी भएका छन् ।


मंगलबार भएको पहिलो खेलमा त्रिनगर माविलाई ६१ रनले पराजित गर्दै शारदाले सुखद सुरुवात गरेको हो । धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५८ रन बनायो । जसका लागि लक्की कडायतले ६७ रनको अर्धशतकीय इनिङ्स खेले भने अभिशेक पालले ३२ रन जोड्दा सचिन साउदले २१ रन बनाए। त्रिनगरका खडक नगरकोटीले ४ विकेट र शिशिर थापा मगरले २ विकेट लिए ।



जवाफी ब्याटिङ गरेको त्रिनगरले १६ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो । उसका लागि बसन्त थापा मगरले ३० र शिशिर थापा मगरले २८ रन बनाए। शारदाका अभिशेक पालले ५ र लक्की खडायतले २ विकेट लिए। खेलका म्यान अफ द म्याच शारदाका अविशेक पाल भए ।
मंगलबारनै भएको दोस्रो खेलमा कञ्चनपुरको शारदा सरस्वतीले धनगढी नमुनालाई ५ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको धनगढी नमुनाले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनायो । उसका लागि पारस कार्कीले २१ र सुमित सिंहले २० रन बनाए । शारदा सरस्वतीका कैलाश सिंह साउँदले ४ विकेट लिए । ९८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदा सरस्वतीले १० दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । उसका लागि हेमन्त धामीले २५ र गणेश बहादुर विटालुले २३ रन बनाए ।
धनगढी नमुनाका पारस कार्की र अनुप कुँवरले २/२ विकेट लिए । खेलका म्यान अफ द म्याच कैलाश सिंह साउद भए ।
लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भइरहेको पाँचौ संस्करणको प्रतियोगिताअन्तर्गत भोलि पनि दुई खेल हुनेछन् ।
प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ ।



