

टीकापुर- कैलालीको टीकापुरमा २०७८ कार्तिक २३ गते राति भएको भुपेन्द्र बडुवाल हत्या काण्डका मुख्य अभियुक्त भनिएका नवीन रावलले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन्। लम्कीचुहा नगरपालिका-३ चिसापानीका २९ वर्षीय रावलले अदालतमा आज आत्मसमर्पण गरेका हुन्।



इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी उद्धवसिंह भाटले दिएको जानकारी अनुसार अभियुक्त रावलले अदालत समक्ष आत्मसमर्पण गरेका हुन्। उक्त घटनामा संलग्न रहेको आरोप लागेका पाँच जना भने अझै फरार छन्।


लम्कीचुहा नगरपालिका-१ का २२ वर्षीय बडुवालको धारिलो हतियार प्रयोग गरी टीकापुरमा हत्या गरिएको थियो। घटनामा संलग्नता रहेको भन्दै जिल्ला अदालतमा प्रहरीले २१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। डीएसपी भाटका अनुसार हालसम्म घटनामा रावलसहित १६ जना कानुनी कारवाहीको दायरमा आएका छन् भने पाँच जना अझै फरार छन्।
डिएसपी भाटले भने ‘प्रहरीले यो घटनामा संलग्न फरार अभियुक्तहरुबारे खोजी अभियान चलाई रहेको छ। सक्दो चाँडो अरु अभियुक्तहरु समेत अदालत पुर्याउने छौं।’ घटनामा संलग्नहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७९२० बमोजिम जिवित रहेसम्म जन्मकैदको सजाय माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको थियो।