

धनगढी- कैलाली र कञ्चनपुर जिल्लाका ३ हजार बढी मुक्तकमैया धनगढीमा भेला भएका छन् । मुक्तकमैया पुनःस्थापना लगायतका मागलाई सरकारले बेवास्ता गरेको भन्दै आन्दोलित उनीहरु सोमबार धनगढीमा भेला भएका हुन् । उनीहरुले वैशाख १४ गतेदेखि मुक्तकमैया, बुक्रही र कमलरीको न्यायिक पुनस्र्थापनाको माग राख्दै अधिकार यात्रा सुरु गरेका थिए ।


उक्त अभियान अन्तर्गत उनीहरु धनगढीमा भेला भएका हुन् । मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीका अनुसार कैलाली र कञ्चनपुर जिल्लाका १५१ वटा शिविरबाट उनीहरु धनगढी आएका छन् । जसमा कैलालीका १२५ र कञ्चनपुर जिल्लाका २६ वटा शिविर कमैया सहभागी थिए । गेटा एयरपोर्टस्थित मुक्तकमैया शिविरबाट धनगढी चौराहासम्म अधिकारका लागि साइकल यात्रा गरिएको थियो ।



सोमबार नै मुक्तकमैया समाजको प्रथम प्रदेश सम्मेलन पनि उद्घाटन गरिएको छ । सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो भने २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो । सरकारी तथ्यांकअनुसार कञ्चनपुरमा सबै मुक्तकमैया पुनस्र्थापना भए पनि कैलालीमा ३८० जनाले जग्गा प्राप्त गर्न नसकेको बताइएको छ ।
तर समाजको तथ्यांकअनुसार कैलालीमा ९५३ र कञ्चनपुरमा १२९ जना गरी १ हजार ८२ जना मुक्तकमैयाको अझै पुनस्र्थापना हुन बाँकी छ । समाजको तथ्यांक अनुसार सुदूरपश्चिममा १२ हजार ९ सय २४ मुक्तकमैया परिवार पुनस्र्थापित भएका छन् ।
त्यस्तै भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा ३ हजार ५०८ कमलरीको तथ्यांक संकलन गरेकोमा १ हजार १५८ जनाले परिचय पत्र पाएका छन् । सुदूरपश्चिममा अझै १ हजार ७३५ मुक्तकमलरीहरु परिचयपत्र पाउनबाट छुटेको मुक्त कमलहरी विकास मञ्चले जनाएको छ ।