

अत्तरिया- कैलालीको अत्तरिया चोकमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशको मुख्यद्वारको रुपमा रहेको कैलालीको अत्तरिया चोकमा राखिएको वाटर फाउन्टेन (पानीको छहरा) ले आन्तरिक पर्यटकको आकर्षण बढाएको छ ।



सोही चोकमा स्व.राजा महेन्द्रको शालीकसँगै वाटर फाउन्टेन (पानीको छहरा) राखिएपछि साझपख फोटो खिच्ने र टिकटक बनाउनेको भिड लाग्ने गरेको छ । चोकमा हाइमास्ट लाइट जडान र वाटर फाउन्टेन (पानीको छहरा) राखेपछि गर्मी सुरु भएसंगै साझको समयमा फोटो खिच्ने र टिकटक बनाउनेको भिड लाग्न थालेको हो ।


सुदूरपश्चिम प्रदेशको मुख्यद्वारका रुपमा रहेको अत्तरिया चोकमा हाइमास्ट लाइट जडान र वाटर फाउन्टेनले आकर्षक र सुन्दर देखिने गरेको छ । सडक छेउमै भएकोले साझपख लाइट र छहराको आकर्षणले कतिपय सवारी रोकेरै अवलोकन गर्ने गरेका छन् । भने कोही बजार आएको समयमा चोकमा पुगेर पानीको छहरासंग आनन्द लिने गरेको बताउन छन् । चोकमास्थित स्व.राजा महेन्द्रको शालिकको वरपर पानीको छहरा रहेको छ । भने ७२ सय वाट क्षमताको हाइमास्ट लाइट जडान गरेको छ ।