

काठमाडौं- प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।


प्रतिनिधि सभाका कुनै सांसदलाई सभामुख पदमा निर्वाचन गरियोस् भन्ने प्रस्तावको सूचना दर्ताका लागि संघीय संसदको ल्होत्से हल तोकिएको छ। आजै सवा चार बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचना दर्ता क्रम अनुसारको सूची प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ।



प्रतिनिधि सभाको सभामुख चयन गर्न बिहीबार ११ बजे निर्वाचन हुने भएको छ। बिहीबार ११ बजे सुरु हुने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव पेस गर्ने र समर्थकले समर्थन गर्ने तथा उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल गरी निर्णयार्थ पेस हुने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।
सभामुख पदमा उम्मेदवारी दिने सांसदको एक प्रति फोटो र नेपाली नागरिकताको प्रतिलिपि हुनुपर्ने सचिवालयले जनाएको छ। सचिवालयले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम सभामुख निर्वाचनको तालिका सार्वजनिक गरिएको हो।






