उग्रतारा भगवती मन्दिरमा आजदेखि प्रसिद्ध देहिजाँत मेला सुरु

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा लाग्ने प्रसिद्ध उग्रतारा मेला (देहिजाँत) आजदेखि सुरु हुँदैछ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका अवसरमा लाग्ने यस मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट हजारौँ श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।

Navadurga sun

उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज राति रतेडी र भोलि दिउँसो दिउँसेडी मेला लाग्नेछ। धार्मिक आस्था र ऐतिहासिक परम्परासँग जोडिएको यो मेला देहिजाँतका नामले समेत परिचित छ।

अमरगढी नगरपालिका–८ मा अवस्थित उग्रतारा भगवती मन्दिर डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा डाँडामा रहेको छ। मेलाको मुख्य विशेषता परम्परागत देउरोसँग जोडिएको छ।

छचोडा, खनमडा, दुमडा र जिलोडा भण्डार रहेका चार गाउँबाट रतेडीका क्रममा बिहान देउरो आएपछि दिउँसेडी मेला सुरु हुने परम्परा छ। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार मेलामा हजारौँ भक्तजन सहभागी भई भगवतीको पूजाआराधना गर्ने गर्छन्।

उग्रतारा भगवती मन्दिरको उत्पत्तिसँग जोडिएको किंवदन्ती पनि निकै पुरानो छ। जनश्रुतिअनुसार करिब दुई हजार पाँच सय वर्षअघि हालको अमरगढी नगरपालिका क्षेत्रको लटाउलीमा बसोबास गर्ने साँकी जातिका स्थानीयले खेत जोत्ने क्रममा हलोको फाली जमिनमा लाग्दा रगत बगेको थियो। त्यसपछि देवी उत्पत्ति भई दर्शन दिएको विश्वासका आधारमा त्यही समयदेखि उग्रतारा भगवतीको पूजाआराधना हुँदै आएको मानिन्छ।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको देहिजाँतले सुदूरपश्चिमको मौलिक परम्परा र धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

ADD Khali jpg
Loading...