काठमाडौं- नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, भूउपग्रह सञ्चार तथा सहरी विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो।




समझदारीअनुसार दुवै देशले विभिन्न निकायबीच अध्ययन, अनुसन्धान, तालिम, प्राविधिक सहयोग तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नेछन्।





समझदारी भएका आठ प्रमुख विषयमा फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक अधिकारीहरूको तालिम, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालन रहेका छन्।
समझदारी भएका आठ क्षेत्र
१. फरेन्सिक विज्ञानमा सहकार्य: गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।
२. प्रहरी प्रशिक्षण: भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षण तथा क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने समझदारी भएको छ।


३. प्रशासनिक अधिकारीहरूको तालिम: भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिने विषयमा सहकार्य हुनेछ।
४. आयुर्वेद तथा परम्परागत चिकित्सा: दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिको विकास तथा प्रवर्द्धनमा सहकार्य गर्नेछन्।
५. स्याटेलाइट सञ्चार: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ।
६. सहरी विकास: दिगो सहरी विकासका क्षेत्रमा दुवै देशले प्राविधिक सहयोग तथा अनुभव आदानप्रदान गर्नेछन्।
७. स्वास्थ्य तथा चिकित्सा: स्वास्थ्य सेवा र चिकित्सासम्बन्धी क्षेत्रमा दुवै देशले मिलेर काम गर्ने समझदारी गरेका छन्।
८. पशुपालन तथा मत्स्यपालन: पशुपालन र मत्स्यपालन क्षेत्रको विकास, प्रवर्द्धन तथा प्राविधिक सहयोगका लागि दुवै देशले सहकार्य गर्नेछन्।
यी समझदारीले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनुका साथै सुरक्षा, प्रशासन, स्वास्थ्य, प्रविधि र आर्थिक विकासका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।




