काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत जान लागेका हुन्।




प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो। परराष्ट्र मन्त्रालयका अनुसार उनी आज मध्याह्न १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्नेछन्।





भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार गरी ३४ जना सहभागी हुनेछन्। निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ।
प्रधानमन्त्री शाह भारतीय समयअनुसार आज अपराह्न ३:४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन्।
विमानस्थलबाट उनी होटल ताजमहल जानेछन्। सोही होटलमा आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता


भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन्। बिहान १० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि उनी हैदरावाद हाउस पुग्नेछन्।
त्यहाँ मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। त्यसक्रममा दुवै प्रधानमन्त्रीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत छ।
भारतीय विदेश मन्त्रालयका अनुसार मंसिर ७ गते मध्याह्न १२:२५ बजे सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय भएको छ।
भेटवार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।
त्यसैगरी, ऊर्जा सहकार्य र सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी छ।
प्रधानमन्त्री शाहले मंसिर ७ गते अपराह्न ३:१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नेछन्। राष्ट्रपति निवासमा हुने भेटपछि उनी अपराह्न ४:५० बजे नयाँदिल्लीबाट नेपाल फर्कने कार्यक्रम छ।
नेपाल सरकारले प्रधानमन्त्री शाहको भारत भ्रमण राष्ट्रहितमा केन्द्रित रहने जनाएको छ। भ्रमणबाट नेपाल–भारत सम्बन्ध थप प्रगाढ बन्नुका साथै दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।




