चुरे एकता प्रवासी समाजद्वारा सरोकारवालासँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको चुरे गाउँपालिकामा चुरे एकता प्रवासी समाज, कर्नाटक बैंगलोर भारतको आयोजनामा सरोकारवालासँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

चुरे गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रम समाजका अध्यक्ष सीताराम खत्री ‘सागर’को सभापतित्व तथा गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

Navadurga sun

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष धनदेवी थापा, प्रमुख प्रशासकीय अधिकृत कुमारी गोमती बोगटी, वडा नम्बर ३ का अध्यक्ष खगेन्द्र खडायत, वडा नम्बर ६ का अध्यक्ष प्रेम साउँद तथा इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरीक्षक किशोर जोशीको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कलापका अध्यक्षलगायत सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नरेश नाथ योगीले गर्नुभएको थियो।

विदेशमा रहेर पनि आफ्नो जन्मभूमि, गाउँसमाज र स्थानीय विकासप्रति चासो राख्दै आएको प्रवासी समाजले स्थानीय सरकार र सरोकारवालाबीच प्रत्यक्ष छलफल तथा सहकार्यलाई अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।

अन्तरक्रियाका क्रममा चुरे गाउँपालिकाको समग्र विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, रोजगारी सिर्जना तथा प्रवासमा रहेका नेपालीहरूको गाउँप्रतिको योगदानलगायतका विषयमा छलफल गरिएको थियो।

सोही अवसरमा समाज तथा विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले विदेशमा रहेर पनि आफ्नो जन्मभूमिप्रतिको जिम्मेवारी र सामाजिक उत्तरदायित्व निर्वाह गर्नु प्रशंसनीय कार्य भएको बताएका थिए। प्रवासी नेपाली र स्थानीय सरकारबीचको सहकार्य, समन्वय र आपसी सम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।

सहभागीहरूले चुरे क्षेत्रको विकास, सामाजिक एकता र समृद्धिका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको आयोजक चुरे एकता प्रवासी समाज, कर्नाटक बैंगलोर भारत रहेको छ।

ADD Khali jpg
Loading...