अत्तरिया- भाइटीकाका दिन यात्रुहरूको सहज आवागमनलाई लक्षित गर्दै कैलालीको डोकेबजारदेखि अत्तरियासम्म निःशुल्क बस सेवा सञ्चालन गरिएको छ।




नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको समन्वय तथा नवजीवन अस्पताल प्रालिको सहकार्यमा आज दिनभर निःशुल्क बस सेवा सञ्चालन गरिएको हो।







भाइटीकाका दिन यात्रुहरूलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले उक्त सेवा सञ्चालन गरिएको जनाइएको छ। चाडपर्वका बेला यात्रुहरूलाई सुरक्षित र सहज यात्रा गराउने उद्देश्यले यस किसिमको सेवा प्रभावकारी हुने विश्वास गरिएको छ।
यसैबीच, प्रहरीले सवारी चालक तथा यात्रुहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। प्रहरीले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी नचलाउन, तीव्र गतिमा सवारी नचलाउन तथा सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ।
साथै, सडक दुर्घटना न्यूनीकरणका लागि सबैले ट्राफिक नियमको पालना गरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न प्रहरीले आग्रह गरेको छ।




