आज भाइटीका मनाइँदै, बिहान ११:०७ बजे उत्तम साइत

काठमाडौं- यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज देशभर दिदीबहिनी र दाजुभाइबीच प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।

भाइटीकाका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ। टीकापछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने तथा गच्छेअनुसार उपहार र दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा छ।

Navadurga sun

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज भाइटीका लगाउनका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम साइत रहेको छ। यद्यपि सर्वसाधारणले दिनभर टीका लगाउन सक्ने समितिले जनाएको छ। राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्।

टीका लगाउँदा पूर्व र पश्चिम फर्कनुपर्ने

समितिका अनुसार यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व फर्कने र टीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्नेछ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्।

भाइटीकाका दिन दियो, कलश र गणेशको पूजा गरी अष्टचिरञ्जीवी, यमराज तथा यमुनाको पूजा आराधना गर्ने परम्परा छ। दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर मखमली, सयपत्री र गोदावरी फूलका माला लगाइदिने तथा ओखर, कटुस, मरमसला र सेलरोटीलगायतका परिकार दिने चलन छ।

बालगोपालेश्वर मन्दिर दिनभर खुला

दिदीबहिनी वा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहनेछ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा पुगेर पूजा, दर्शन तथा टीका लगाउने प्रचलन छ। काठमाडौं महानगरपालिकाका अनुसार भक्तजनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ।

त्यस्तै, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा तथा दर्शन गरी टीका लगाउने पुरानो परम्परा रहेको संस्कृतिविद् डा. गोविन्द टण्डनले बताएका छन्।

यसैबीच, नेवार समुदायले भाइटीकालाई ‘किजापूजा’ का रूपमा मनाउने गर्छन्। कुल परम्पराअनुसार केही समुदायले भाइटीकाकै दिन र केहीले अघिल्लो दिन किजापूजा गर्ने चलन छ। भक्तपुरका तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार त्यहाँका अधिकांश नेवार समुदायले भने हिजो नै किजापूजा सम्पन्न गरेका छन्।

भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, सद्भाव र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।

ADD Khali jpg
Loading...