कथाकार यज्ञराज जोशीको कथा सङ्ग्रह ‘वैशाखी’ माथि विमर्श कार्यक्रम सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- कथाकार यज्ञराज जोशीको कथा सङ्ग्रह ‘वैशाखी’ माथि विमर्श कार्यक्रम मङ्गलबार प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ।

सुदूरपश्चिम क्षेत्रका साहित्यकारहरूलाई सम्मान गर्नुका साथै उनीहरूको साहित्यिक योगदानलाई आम नागरिकमाझ परिचित गराउने उद्देश्यले प्रतिभा सामुदायिक पुस्तकालयले उक्त कार्यक्रम आयोजना गरेको हो। पुस्तकालयले यसअघि पनि विभिन्न साहित्यिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।

Navadurga sun

पुस्तकालयका अध्यक्ष भूपेश जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा प्रतिष्ठानकी उपकुलपति सरस्वती दाहाल, सदस्यसचिव सुरतबहादुर डोका, कथा सङ्ग्रहका लेखक यज्ञराज जोशी तथा सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन पुस्तकालयका सहसचिव हेमन्त जोशी बाजेले गरेका थिए।

कार्यक्रममा वक्ताहरूले ‘वैशाखी’ कथा सङ्ग्रहमा समावेश १४ वटा कथामाथि विमर्श गरेका थिए। उनीहरूका अनुसार सङ्ग्रहमा सबैभन्दा लामो कथा ‘वैशाखी’ र सबैभन्दा छोटो कथा ‘नरम’ रहेको छ। कथाकारले आफ्ना जीवनका अनुभव तथा समाजमा देखिएका यथार्थ घटनालाई कथामार्फत प्रस्तुत गरेका छन्।

कथा सङ्ग्रहमा चेलीबेटी बेचबिखन, छाउपडी प्रथा, छुवाछुत, अपाङ्गता तथा राजनीतिक विकृतिविरुद्ध व्यङ्ग्यात्मक रूपमा आवाज उठाइएको छ। वक्ताहरूले यसलाई यथार्थवादी कथाहरूको सङ्ग्रहका रूपमा चर्चा गरेका थिए।

‘वैशाखी’ कथामा बैतडीका नन्दराज भट्टलाई मुख्य पात्रका रूपमा प्रस्तुत गरिएको छ। शारीरिक रूपमा अपाङ्गता भएका भट्टले आफ्नो शिक्षा र बुद्धिमत्ताका माध्यमबाट अर्की युवतीलाई सहयोग र सहारा दिएका छन्। यसरी उनी स्वयं अपाङ्गता भएका व्यक्ति भए पनि अर्काको जीवनमा वैशाखी बनेका छन्।

कथाकार जोशीका कथामा उनको सङ्घर्षशील जीवन, सामाजिक अनुभव र यथार्थपरक दृष्टिकोण प्रतिबिम्बित भएको वक्ताहरूले बताएका थिए। मानिस स्वार्थी नभई अरूको दुःखमा साथ दिनुपर्छ र आवश्यक पर्दा एकअर्काको सहारा बन्नुपर्छ भन्ने महत्वपूर्ण सन्देश कथा सङ्ग्रहले दिएको छ।

कार्यक्रममा साहित्यकार, लेखक तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।

ADD Khali jpg
Loading...