पश्चिमी वायुको आंशिक प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Navadurga sun

आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ADD Khali jpg
Loading...