गोदावरीमा पहिलोपटक ‘मेयर कप’ ब्याडमिन्टन प्रतियोगिता हुँदै, विजेतालाई ५१ हजार पुरस्कार

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा प्रथम संस्करणको ‘गोदावरी मेयर कप’ ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। गोदावरी खेलकुद विकास मञ्चको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बी लेबल तथा गोदावरी नगरस्तरीय सी लेबल प्रतियोगिता सञ्चालन हुन लागेको हो।

आयोजकका अनुसार बी लेबल प्रतियोगिता २०८३ कार्तिक २० गते बिहान ९ बजेदेखि सुरु हुनेछ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने तथा कामकाजको सिलसिलामा प्रदेशमा रहेका खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन्।

Navadurga sun

बी लेबल प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, द्वितीय हुने टोलीले ३१ हजार १११ रुपैयाँ तथा तृतीय हुने टोलीले १० हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन प्रतिटिम दुई हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। टिम दर्ताको अन्तिम मिति कार्तिक १९ गते साँझ ४ बजेसम्म तोकिएको छ भने सोही दिन साँझ ७ बजे टाइसिट सार्वजनिक गरिने आयोजकले जनाएको छ।

यसैगरी, गोदावरी नगरस्तरीय सी लेबल प्रतियोगिता कार्तिक १८ गतेदेखि सञ्चालन हुनेछ। प्रतियोगितामा गोदावरी नगरपालिकाभित्रका खेलाडी तथा कर्मचारीहरूले सहभागिता जनाउन पाउनेछन्। इच्छुक खेलाडीले व्यक्तिगत रूपमा नाम दर्ता गराउनुपर्नेछ। यसका लागि प्रतिव्यक्ति ५०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ।

दर्ता भएका खेलाडीमध्ये आयोजकले सिनियर र जुनियर खेलाडीलाई समावेश गरी टोली निर्माण गर्नेछ। आयोजकले गठन गरेको टोलीले मात्रै प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ।

सी लेबल प्रतियोगितामा प्रथम हुने टोलीले १५ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले ५ हजार १११ रुपैयाँसहित पुरस्कार पाउनेछ। तृतीय हुने टोलीलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। उक्त प्रतियोगिता मैत्रीपूर्ण रूपमा सञ्चालन गरिनेछ।

प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको गोदावरी खेलकुद विकास मञ्चका अध्यक्ष तेजबहादुर खड्का र सचिव धर्मसिंह कुँवरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।

प्रतियोगिताले स्थानीय तथा प्रदेशस्तरका ब्याडमिन्टन खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुद क्षेत्रको विकास र खेलाडीबीच आपसी सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
Loading...