कोजाग्रत पूर्णिमा आज, महालक्ष्मीको पूजा आराधना गरी दसैं बिदाइ गरिँदै

काठमाडौं- नेपालीहरूको महान् चाड बडादसैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा मनाइँदै छ। आज साँझ धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभरि जाग्राम बस्ने धार्मिक परम्परा छ।

कोजाग्रत पूर्णिमाको दिन दुर्गाको एक रूप महालक्ष्मीको पूजा आराधना गरी जाग्राम बसेमा देवी लक्ष्मी घरमा प्रवेश गर्ने र धनधान्यले सम्पन्न बनाउने धार्मिक विश्वास रहेको छ। यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ।

Navadurga sun

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको दसैंको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ। यससँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादसैं औपचारिक रूपमा सम्पन्न हुन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बेलुकी अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसादस्वरूप दसैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत मानिन्छ।

आज बिहान दसैंघरमा रहेका फूलप्रसाद तथा जमराका अवशेष नजिकैको नदी, तलाउ, पोखरी वा अन्य तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा छ।

कोजाग्रत पूर्णिमापछि भोलिदेखि कात्तिक स्नान तथा आकाशदीप दान गर्ने परम्परा सुरु हुन्छ। यसलाई दसैंको बिदाइ र तिहारको तयारीको सुरुवातका रूपमा पनि लिने गरिन्छ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गर्ने तथा घरघरमा तुलसीको विशेष पूजा गर्ने धार्मिक परम्परा छ। कात्तिक स्नान गर्ने व्यक्तिले यस अवधिमा मास, मुगी, मुसुरो, चना र भटमासजस्ता द्विदल अन्न खान नहुने शास्त्रीय मान्यता पनि रहेको छ।

यसरी धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्त्व बोकेको कोजाग्रत पूर्णिमासँगै बडादसैंलाई बिदाइ गर्दै नेपालीहरू तिहारको तयारीमा जुट्ने गर्छन्।

ADD Khali jpg
Loading...