काठमाडौं- देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।




महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।







आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार सोमबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। सोमबार कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।




