बाजुरा- बाजुराको साँफे–मार्तडी सडकखण्डअन्तर्गत अम्कोटको पहिरो नियन्त्रण तथा सडक सुधारका लागि ५२ करोड ३१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ। वर्षौंदेखि पहिरोको जोखिम र सडक अवरुद्ध हुने समस्या झेल्दै आएका स्थानीय बासिन्दाले बजेट विनियोजनसँगै स्थायी समाधानको आशा गरेका छन्।




संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षदेखि काम सुरु गर्ने गरी बजेट विनियोजन गरेको हो। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका विज्ञ सल्लाहकार इन्जिनियर दिनेश रावतका अनुसार सडक डिभिजन कार्यालय साँफेबगर, अछाममार्फत कार्यान्वयन हुने आयोजना अहिले टेन्डर प्रक्रियामा छ।







डिजाइन पुनः परीक्षण गर्नुपर्ने भएकाले तिहारपछि आवश्यक परिमार्जन गरी टेन्डर खोल्ने तयारी गरिएको रावतले बताए। आयोजना बहुवर्षीय ठेक्कामार्फत सञ्चालन गरिनेछ।
अम्कोट क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै खेतीयोग्य जमिन कटान र बस्तीमा क्षति पुग्ने समस्या लामो समयदेखि रहँदै आएको छ। २०७७ सालमा सडक भासिँदा एक जनाको मृत्यु भएको थियो। सडकको तल्लो भागमा बूढीगंगा नदीको कटान र पारिपट्टि त्रिवेणी नगरपालिकाको पैमा क्षेत्रमा पहिरोको जोखिमले समस्या थप जटिल बनेको छ।
२०७९ सालमा गरिएको अध्ययनले अम्कोटको दीर्घकालीन समाधानका लागि करिब तीन अर्ब रुपैयाँ आवश्यक पर्ने देखाएको थियो। अहिले विनियोजित बजेटबाट पहिरोको जोखिम कति न्यूनीकरण हुन्छ भन्ने कुरा प्राविधिक डिजाइन र कार्यान्वयनमा निर्भर रहनेछ।
साँफे–मार्तडी सडक बाजुरासहित हुम्ला र मुगुका बासिन्दाको आवागमनका लागि समेत महत्त्वपूर्ण मार्ग हो। स्थानीय बासिन्दाले बजेट विनियोजनमा मात्र सीमित नराखी निर्माण कार्य समयमै र प्रभावकारी रूपमा सम्पन्न गर्न माग गरेका छन्।




