कैलाली- कैलालीमा अवैध रूपमा कटान गरी लैजाँदै गरिएको सालको काठसहित एक जना पक्राउ परेका छन्। घटनामा संलग्न अर्का एक जना भने फरार भएका छन्।




लम्कीचुहा नगरपालिका–३, बल्चौरस्थित मुक्त कमैया सामुदायिक वनबाट अवैध रूपमा कटान गरी ल्याइएको १४.३५ क्यूफिट सालको काठसहित जानकी गाउँपालिका–८, भगरैयाका सर्वन चौधरी पक्राउ परेका हुन्।





शनिबार राति वन क्षेत्रबाट चोरी गरी ल्याइएको ७.७९ क्यूफिट र ६.५६ क्यूफिटका दुई गोलिया सालको काठ दुईवटा मोटरसाइकलमा लोड गरी लैजाँदै गरेको अवस्थामा चौधरीलाई नियन्त्रणमा लिइएको हो।


काठ ओसारपसारमा प्रयोग गरिएका सुदूरपश्चिम प्रदेश ०१–००८ प ५६२३ र से.७ प ६४०९ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
मुक्त कमैया सामुदायिक वन उपभोक्ता समूह, स्थानीय युवा क्लब र सब–डिभिजन वन कार्यालय लम्कीको संयुक्त टोलीले राति गस्ती गर्ने क्रममा महेन्द्र राजमार्गको बल्चौर चोक नजिकै राति २ः५५ बजे काठ लोड गरिएका मोटरसाइकलसहित चौधरीलाई पक्राउ गरेको हो।
घटनामा संलग्न अर्का एक जना भने फरार रहेको जनाइएको छ। बरामद गरिएको काठ तथा दुवै मोटरसाइकल सब–डिभिजन वन कार्यालय लम्कीमा बुझाइएको छ।
पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको छ। साथै, घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहे/नरहेको विषयमा अनुसन्धान जारी रहेको सब–डिभिजन वन कार्यालय लम्कीले जनाएको छ।




