धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले भूगोल, जनसंख्या, आवश्यकता र प्राथमिकताका आधारमा विकास योजना छनोट गरिने बताएका छन्।
सोमबार पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भाटले सुदूरपश्चिमको भौगोलिक विविधतालाई ध्यानमा राखेर योजना निर्माण तथा कार्यान्वयन गरिने बताए। प्रदेशमा तराई, पहाड र हिमाली क्षेत्र रहेकाले सबै क्षेत्रको आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा योजना अघि बढाउने उनको भनाइ छ।

‘हाम्रो प्रदेशमा तराई, पहाड र हिमाली भूगोल छ। योजना छनोट गर्दा भूगोल, जनसंख्या, आवश्यकता र प्राथमिकताका आधारमा छलफल गरेर अगाडि बढ्ने सोच बनाएका छौँ,’ उनले भने।
मन्त्री भाटले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर मन्त्रालयका काम अघि बढाउने प्रतिबद्धता पनि जनाए। अघिल्लो सरकारको तुलनामा सुशासन र पारदर्शिताको क्षेत्रमा सुधार गर्ने प्रयास रहने बताउँदै उनले सरकारी काममा देखिएका बेथितिको अन्त्य गर्न पहल गर्ने बताए।
‘पूर्णरूपमा नियन्त्रण गर्छौं त म भन्न सक्दिनँ, तर बेथितिको अन्त्य गर्छौं,’ उनले भने।
सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै जनताले अनुभूति गर्ने गरी काम गर्ने मन्त्री भाटले बताए। उनले आगामी बजेट निर्माणमा समेत द्रुत गतिमा जुट्ने जानकारी दिए।
पदभार ग्रहणसँगै मन्त्री भाटले तीनवटा महत्वपूर्ण निर्णय गरेका छन्। सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्ने तथा गोदावरी, अत्तरिया, त्रिनगर र गड्डाचौकीलगायतका स्थानमा एएनपीआर क्यामेरा जडान गर्ने निर्णय गरिएको छ।
त्यस्तै, वर्षौंदेखि अलपत्र रहेका ठेक्काहरूको एक महिनाभित्र अध्ययन गरी काम गर्न सक्ने निर्माण व्यवसायीलाई काममा लगाउने र काम नगर्ने ठेकेदारसँगको ठेक्का रद्द गर्ने निर्णय पनि गरिएको छ।
मन्त्री भाटले प्रदेश सरकारलाई २० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाका लागि अधिकार भए पनि आवश्यक ऐन नहुँदा समस्या भइरहेको बताए। उक्त समस्या समाधानका लागि आवश्यक ऐन निर्माणको सैद्धान्तिक सहमतिका लागि कानुन मन्त्रालयमा पठाउने निर्णयसमेत गरिएको उनले जानकारी दिए।
