अत्तरिया- सुदूरपश्चिममा आयोजना हुन लागेको गाईजात्रा सिजन–२ मा रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति प्रवर्द्धकका रूपमा जोडिएको छ।
सुदूरपश्चिमको कला, संस्कृति, पर्यटन तथा मौलिक परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको गाईजात्रा सिजन–२ मा रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको सहकार्य रहने भएको हो।

रामारोशन क्षेत्रको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटनलाई राष्ट्रियस्तरमा चिनाउन गाईजात्रा सिजन–२ महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ। समितिले कार्यक्रममार्फत रामारोशन क्षेत्रको पर्यटन सम्भावना र स्थानीय मौलिक संस्कृतिको प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
गाईजात्रा सिजन–२ मा सुदूरपश्चिमका विभिन्न क्षेत्रका कलाकार तथा संस्कृतिकर्मीको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममार्फत मनोरञ्जनसँगै सुदूरपश्चिमको भाषा, कला, संस्कृति र पर्यटनलाई देश–विदेशसम्म पुर्याउने लक्ष्य राखिएको छ।
रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको प्रवर्द्धकीय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने आयोजकको भनाइ छ। साथै, यस सहकार्यले रामारोशनलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
