धनगढी- कला, संस्कृति तथा गाईजात्रा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ को तयारी तीव्र पारिएको छ।
आयोजक बैजनाथ सञ्चार प्रालिका अनुसार कार्यक्रम यही भदौ १७ गते धनगढीस्थित एसटीएस सिनेमा हलमा आयोजना हुँदैछ। कार्यक्रम हुन अब ११ दिन मात्रै बाँकी रहेकाले तयारीलाई तीव्र बनाइएको आयोजकले जनाएको छ।

कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकारसँगै वरिष्ठ हास्य–व्यंग्य कलाकार तथा अभिनेताहरूको प्रस्तुति रहनेछ। व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा तथा मौलिक लोक–सांस्कृतिक प्रस्तुतिमार्फत सुदूरपश्चिमको कला, भाषा, संस्कृति र प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा लागुऔषध दुव्र्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदलगायत समसामयिक विषयलाई हास्य–व्यंग्यका माध्यमबाट प्रस्तुत गरिनेछ।
कार्यक्रमका आर्थिक संयोजक शुभेष पाठकले अघिल्लो संस्करणभन्दा यसपटकको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने गरी तयारी भइरहेको बताए। कलाकारको प्रस्तुति, मञ्च व्यवस्थापन, यातायात तथा दर्शकको सहभागितालाई विशेष प्राथमिकतामा राखिएको उनको भनाइ छ।
“कलाकारको प्रस्तुति, मञ्च व्यवस्थापन, यातायातदेखि दर्शकको सहभागितासम्मका पक्षलाई व्यवस्थित बनाउने गरी तयारी भइरहेको छ,” पाठकले भने, “कलाकारहरूलाई समयमै कार्यक्रमस्थलमा ल्याउनेदेखि कार्यक्रमपछि सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने विषयलाई पनि प्राथमिकतामा राखेका छौँ।”
कार्यक्रमकी मुख्य संयोजक सरस्वती खड्का भट्टले सुदूरपश्चिमको मौलिक कला, भाषा, संस्कृति र प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्दै गाईजात्रा परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन्।
उनले कार्यक्रम मनोरञ्जनमा मात्रै सीमित नरहने बताउँदै सामाजिक विकृति र विसंगतिमाथि हास्य–व्यंग्यका माध्यमबाट सकारात्मक बहस सिर्जना गर्ने, स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने तथा सुदूरपश्चिमको मौलिक गाईजात्रा परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने मुख्य उद्देश्य रहेको बताइन्।
कार्यक्रमलाई थप व्यवस्थित बनाउन प्रवद्र्धक तथा विभिन्न सहयोगीहरू पनि जोडिँदै गएको आयोजकले जनाएको छ। दर्शक, कलाकार, कला–संस्कृति प्रेमी तथा स्थानीय समुदायको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा आयोजकको छ।
सुदूरपश्चिमको मौलिक कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याउने विश्वाससहित ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
